बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त रहेका छन्। यसै क्रममा रूपन्देही क्षेत्र नम्बर २ मा प्रतिस्पर्धी दुई उम्मेदवारबीच सौहार्दपूर्ण भेट भएको छ।
घरदैलो अभियानका क्रममा बुटवल महानगरपालिका वडा नम्बर २ को नर्सिह टोलमा नेपाली कांग्रेसका उम्मेदवार चुन्नु प्रसाद पौडेल र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सुभाष पाण्डे ( बिश्वदीप) बीच आकस्मिक भेट भएको हो।
दुवै पक्षका समर्थकहरूले आ–आफ्नो पार्टीको नारा लगाइरहेका थिए। नेपाली कांग्रेसका कार्यकर्ताले “नेपाली कांग्रेस जिन्दाबाद” भनेका थिए भने नेकपाका कार्यकर्ताले “नेकपा जिन्दाबाद” का नारा लगाएका थिए।
यद्यपि, वातावरण भने शान्त र सौहार्दपूर्ण देखिएको थियो। उम्मेदवारहरूले एक–अर्कालाई अङ्कमाल गर्दै विजयको शुभकामना आदान–प्रदान गरेका थिए। स्थानीयका अनुसार प्रतिस्पर्धाबीच देखिएको यस्तो सकारात्मक व्यवहारले स्वस्थ लोकतान्त्रिक संस्कृतिलाई बल पुर्याउने अपेक्षा गरिएको छ।
तस्वीर साैजन्य ः इन्द्र खत्री
