बुटवल, १४ चैत
मुद्रण उद्योग संघ रूपन्देहीको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै भव्य रूपमा सम्पन्न भएको छ। संघका संस्थापक अध्यक्ष खेम प्रसाद लुइँटेलको प्रमुख आतिथ्यता तथा निर्वाचन संयोजकत्वमा सम्पन्न उक्त अधिवेशनले आगामी कार्यकालका लागि अरुण पन्थीको अध्यक्षतामा १० सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो।
निवर्तमान कार्यसमिति अध्यक्ष पशुपति पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र कार्यक्रमको सञ्चालन निवर्तमान सचिव राजु धिमिरेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुइँटेलले मुद्रण व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायीहरूको हकहितका लागि संस्थागत एकता अपरिहार्य रहेको बताए। संघका लुम्बिनि प्रदेश अध्यक्ष घनश्याम घिमिरे र रुपन्देहिका पुर्व अध्यक्ष कृष्ण पराजुलीले पनि संघलाई सबै मुद्र्ण ब्यवसायिको साझा थलो बनाउन सबै एक्यवद्ध भएर लाग्नुपर्ने बताए ।
उत्कृष्ट व्यवसायीलाई सम्मान
साधारण सभाको अवसरमा मुद्रण व्यवसायको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यवसायीहरूलाई’उत्कृष्ट व्यवसायी सम्मान’ प्रदान गरिएको थियो। सम्मानित हुने व्यवसायीहरूलाई प्रमुख अतिथि तथा निवर्तमान अध्यक्षले दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए।
अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति यस प्रकार रहेको छ:
अध्यक्ष: अरुण पन्थी
वरिष्ठ उपाध्यक्ष: राजु धिमिरे
उपाध्यक्ष: भरतराज पाठक
सचिव: नर बहादुर राना
सह-सचिव: मधुसुदन पोखरेल
सदस्यहरू: ऋषिराम आले, हिमालय पौडेल, दिलिप रिजाल, मेनुका के.सी. र वसन्त शर्मा।
नवनिर्वाचित अध्यक्ष पन्थीले कार्यभार सम्हाल्दै आफ्नो कार्यकालमा जिल्लाका सम्पूर्ण मुद्रण व्यवसायीहरूलाई गोलबन्द गर्दै उद्योगका समस्या समाधान गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रूपन्देही जिल्लाका मुद्रण व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।