कुनै समयको रीति अर्को समयमा कुरीतिपनि बन्न पुग्छ । समाजले कुनै रीतिलाई आफै सच्याएर अघि बढ्छ त कुनैलाई समीक्षा नगरिकनै बोकेर हिँड्छ । त्यस्तै कतिपय चलन आफै बन्ने गर्छन् र आफै भत्कने गरेका पनि पाइन्छन् । भनाइ पनि छ, “नदिने बजैले बुधबार बार्छिन् ।” खास गरेर लेनदेनको कुरामा अझ नगद कारोबारमा कुन–कुन बार दिने वा दिन हुने र कुनकुनबार नहुुने चलन हाम्रो समाजमा छ । जुनबार कारोबार नगर्ने भन्ने चलन हुन्छ त्यस दिन नगद दिनै पर्ने भएमा बाँझो अर्थात पैसा लिनेले कुनै जिन्सी, सानो इकाइको पैसा र त्यो पनि हुन नसकेमा झुम्रो च्यातेर दिने पुरानो चलन,यो चलन कतै कतै आजपनि छ । त्यसको अर्थ हो पैसा दिएमा अरू बस्तुलिएर लेनदेन ब्यवहार सन्तुुलनमा राख्ने । बुधबार यस्तो बार हो, त्यो दिनमा कुनै सट्टा भर्ना वा बाँझो नलिइकन कारोबार हुन्छ, त्यस्तो चलन छ । दिन नचाहने मान्छेले बुधबार पनि बार्छन् भन्ने कुराको यो उदाहरण हो । आज यस्ता चलनको कुनै तुक त देखिन्न तर पनि कारोबारमा शोधभर्ना लिने कुरालाई हेर्दा नकारात्मक नै मान्ने अवस्था छैन ।
छुवाछुत तथा कथित दलितको अवस्था कहिले कहाँबाट र कसरी शुरु भयो भन्ने कुरातिर नजाउँ । पुरानो चलन वा कारणतिर पनि नजाउँ । त्यो बेलाको कुराले यो समाजलाई कारक बनाएर, खास गरेर कथित गैह्रदलित र दलितको खाडल गहिरो बनाउनेतिर पनि नजाउँ । त्यो बेलाको रीति आज कुरीति भएको छ । त्यस्ता छुवाछुत जातविशेषमा मात्र होइन परिवारमा समेत कायम छन् । सुत्केरी तथा मर्दापर्दाको अवस्थामा समेत आन्तरिक छुवाछुत कायमै छ । कसैले यसलाई वैज्ञानिक कारण देखाएर छुवाछुत प्रथालाई टेवादिने गरेको समेत पाइन्छ । बैज्ञानिकताको वा बिज्ञानको अर्थ र मर्म नबुझिकन पुष्टि गर्न खोज्नु झनै मुर्खताहुन जान्छ ।
हम्रो समाजमा संस्कारबाट उत्पन्नहुने गरेका, चलनबाट उत्पन्नहुने गरेका र धर्मको नामबाट उत्पन्न भएका बिकृति धेरै छन् । धर्म, संस्कार वा चलनबाट उत्पन्न भएका कुराहरू पनि ब्यवहारको निमित्त अनुपयुक्त छन् भने त्याग्नु पर्दछ । कतिपय संस्कार ब्यवहारमा उपयुक्त नभएपनि सामान्य पर्वमा संस्मरणको निमित्त मान्न सकिन्छ । यसैलाई सभ्यतापनि भनिन्छ । यसरी संस्कार वा सभ्यताको संरक्षण गर्दा समाजलाई हानि हुने खालका वा संस्कृति संरक्षणको नाममा असभ्यता प्रदर्शन हुने खालका संस्कारलाई जरैदेखि हटाउनु पर्र्दछ । बिडम्बना नै भन्नु पर्छ, हामीले त्यस्ता संस्कारलाई हटाउनुको सट्टा प्रकारान्तले बढाइ रहेका छौं, राउटेको रहनसहन तथा पहिरनलाई संरक्षण गर्नु एउटा उदाहरण हो ।
आदिवासी जनजाति तथा कथित दलितका वर्र्गीय समस्या छन् । वर्गीय समस्या खास गरेर निम्न वर्गीय समस्या आम रूपमा कायम छ । आजको अवस्थाबाट हेर्दा छुवाछुत तथा जातबाट उत्पन्न बिकृति तथा पीडालाई नजिक राखेर हेर्दा वर्गीय समस्या आम नेपालीको साझा समस्या हो । धनी मान्छे; कथित दलित र गैह्र दलित उस्तै हो । त्यस्तै गरीब मान्छे पनि; गरीब दलित र गैह्र दलित उस्तै हो । यो कुराको बुझाइमा मेल खाएको छैन । यही अवस्था आदिवासी जनजातिको पनि हो ।
छुवाछुत प्रथा होइन कुप्रथा हो । यो छुवाछुत वा अछुतको कथातिर लाग्नु भन्दापनि सुधार्नुतिर वा अन्त्य गर्नेतिर लाग्नु पर्छ । कानूनतः यो समस्या अन्त्य भएको पनि छ । समाजको बाह्य नारामा समेत अन्त्य भएको छ तर ब्यवहारमा अझै जकडिएको अवस्था छ । आइएनजीओ र सरकारले पनि अल्मल्याएको छ । एकातिर छुवाछुतमुक्त समाजको पक्षमा छ भने अर्कोतिर कथित दलितको नाममा आर्थिक प्रलोभन दिएर अझ दलितको संख्या बढाउने काम गरेको छ । सामाजिक मर्यादामा वा दलितको अवस्थाबाट मुक्त भएको अवस्थामा समेत आर्थिक प्रलोभनका कारणले मनोवैज्ञानिक हिसाबले उनीहरू फर्केर दलित हुँदै छुवाछुततिर उन्मुखभएको अवस्थापनि छ । त्यस्तै कथित दलितको नाममा तल्लो वर्गका जनताले पाउनु पर्ने सुबिधा उच्चवर्गका कथित दलितले पाउने गरेको अवस्था छ ।
परम्परागत जातको आधारबाट दलित मान्ने गरेको अवस्था छ । आजसम्मको अवस्थालाई हेर्दा जे भयो भयो भन्ने मात्र हो । अब हामी यस अवस्थाबाट मुक्त हुन जरुरी छ । आर्थिक रूपले थोरैमा पनि हातमुखको समास्याबाट मुक्त भएको र छुवाछुतका रूपले सामाजिक ब्यवहारमा समेत सामान्य अवस्थामा भएको नागरिक दलित हुन सक्दैन । त्यस्ता म दलित होइन वा अब म दलित छैन भन्नेहरूको संख्यापनि थोरै भएपनि सकारात्मक छ, यो सामाजिक सुधारको हिसाबले राम्रो कुरा हो । त्यसो भन्दैगर्दा आन्तरिक समाजमा वा कसैको घरमा पस्ने तथा खानपीन गर्ने सवालमा अझै उल्लेख्य प्रगति हुन सकेको छैन । खास गरेर गैह्र दलित भनिने परिवारका महिला सदस्यमा यो समस्याअलि बढी रहेको पाइन्छ । पारिवारिक समस्याको कारणले गैह्र दलित भनिनेका घरमा दलित भनिने इष्ट मित्र जाने सवालमा हिच्किचाउनु पर्ने अवस्था कायमै छ । यसो भन्दै गर्दा आन्तरिक बिद्रोहको रूपमा वा संस्कार नामको कुसंस्कार मिचेर सामिप्य हुने गरेको अवस्था पनि छ । बैवाहिक सम्बन्ध कायम भएको अवस्था पनि छ तर यो अवस्था एकातिर नगण्य मात्रामा छ भने अर्कोतिर आन्तरिक बिमतिको अवस्था समेत उस्तै छ ।
नेपालको सन्दर्भमा हिन्दू धर्म परम्पराका खस तथा आर्यमा समाजमा बाहेक दलित र छुवाछुतको अवस्था अन्य जातबिशेषमा छैन । त्यसैको प्रभावले अन्य जातबिशेषका नागरिकले समेत खस तथा आर्यबाट उत्पन्न भएका कथित दलित वर्गलाई छुवाछुतकै नजरले हेर्ने र सोहि अनुसार ब्यवहार गरेको पाइन्छ । नेवारी सभ्यतामा छुवाछुतको कुरीति थोरै मात्रामा भएपनि कायम छ । उनीहरू पनि खस तथाआर्य मिश्रित सभ्यता हो । यसो पनि भनौं हिन्दू संस्कारका खस तथा आर्यहरूमा बाहेक संसारका कुनै पनि धर्म परम्परा मान्नेहरूमा छुवाछुत जस्तो कुरीति छैन । स्मरणीय छ, हिन्दू धर्म मान्नेहरूमा खस र आर्य मूलका जनतामात्रै छैनन्, गैह्र खस तथाआर्य मूलका समेत ठूलो संख्यामा छन् । यो पनि सत्य हो, संसारका खस तथा आर्य सभ्यताका मान्छे गैह्र हिन्दू आस्थामा रहनेहरूको संख्यापनि धेरै छ । यो कुरा मनन गर्न जरुरी छ ।
धर्म भन्ने कुरा समाजको आस्था र आदर्श हो । अर्को शब्दमा भन्दा सभ्यता तथा पहिचान हो । यस भित्र रहेका पौराणिक कथन र वा परम्परा अथवा प्राचीन सभ्यताका नियमावली रहेका हुन्छन् । त्यस्ता नियमावली आजको समयसंग तुलना गर्दा कतिपय सन्दर्भमा परिवर्तित छन् वा हुनु पर्दछ । देशको मूल कानून समयानुकूल परिवर्तन भएको छ । पौराणिक नियमकानून र आजको कानूनवा संबिधान अनुरूप कतिपय अवस्थामा मेल खाँदैनन् ।
एउटै समाजमा एउटै सन्दर्भमा दुईटा नियम अब्यवहारिक पनि हुन्छ । पौराणिक मान्यतालाई पालनागर्दा बर्तमान संबिधानको अपहेलना हुन सक्छ । त्यस अवस्थामा पनि धार्मिक मान्यताका कुरालाई सच्याउन जरुरी हुन्छ अन्यथा हामी जड हुन्छौं । जड धार्मिकता । हिन्दू धर्मभित्र रहेको छुवाछुतको प्रथा नामको कुप्रथा यस धर्म भित्रको कलंकको रूपमा रहेको छ । यसै कारणले पनि कतिपय अवस्थामा धार्मिक बिचल नहुने गरेको छ । सामाजिक मर्यादामा मान्छे मान्छेमा उँचनीच हुनु यसै पनि असभ्यता हो । कतिपय अवस्थामा जात ढाँट्नु पर्ने र त्यसले पनि नभएमा धर्मै परिवर्तन गर्नुपर्ने बाध्यता हामीले देखेका छौं । छुवाछुतबाट मात्र मुक्तहुन सकेमा अरू समस्या स्वतःअन्त्य हुन्छन् ।
संस्कार वा बानी यस्तो कुरा हो, पीडित पक्षले पनि जातले पाएको भन्दै चलन, धर्म वा सामाजिक संरचनाको डरले मनैदेखि छुवाछुतको कुरीति स्वीकारेको अवस्था छ । त्यसैमा वर्गीय चेतानाको समस्या कायम छ । कानूनले पाएको सुबिधावाहकमा समेत दलितवर्गले नै टाउको उठाउन नसकेको अवस्थामा गैह्र दलित भनिने वर्गले लाख पाउने अवस्था हुन्छ । त्यसैमा शिक्षा र सभ्यताको नजरले दुर्गम मानिने स्थानमा यस समस्याको खाडल झनै गहिरो छ । शहरी तथ्यांक हेरेर मात्र यो खाडल पुरिन्न ।बिडम्बना नै भन्नु पर्छ, शहरी तथ्यांक समेत आवरणमा जे छ ब्यवहारमा नकारात्मक नै छ । अर्को समस्याहो, बहुसंख्यक समाजभन्दा अल्पसंख्यक कर्मकाण्डको पेसामा रहेको वर्गमध्ये धेरैबाट छुवाछुतको समस्यालाई बल पु¥याएको पाइन्छ । विज्ञान, भौतिकवाद तथा पुनर्जन्मका अल्पज्ञानीहरूलाई यो शिक्षाको आवश्यकता देखिन्छ । विचार तथा आध्यात्मिक वा आध्यात्मवाद फरक कुरा हो । आध्यात्मिक चिन्तनले तथा गहन धार्मिक चिन्तनले जातपातमा बिभेद देख्दैन । हामीहरू धेरैमा आध्यात्मिक चिन्तन भनेको रुढीगत धार्मिक वा पौराणिक कथा वाचनलाई मात्र मान्ने समास्यापनि छ । पुराणका कथा र धर्म धेरै भिन्न कुरा हुन् । स्वस्थानीको कथा पढेर हात जोड्दैमा धार्मिक बनिदैन । स्वस्थानी भनेको आफ्नो स्थान हो । स्थानको पूजा गर्नु भनेको मातृभूमिको पूजा हो । राष्ट्रप्रेमको पूजाहो । राष्ट्रप्रेममा जातपातको सवाल उठ्दैन ।
हामीले यी सबै कुरा मनन गर्नु आवश्यक छ । मनन गर्नु वा बोध हुनु भनेको कानूनभन्दा माथिल्लो स्तरको बुझाइहो ।